कौसी
बिरलै म हासेँ
बादल परबाटै देखिन्छ
म आफ्नो छतमा उभिएर हेर्छु
क्षितिजसम्मको दृष्टिगोचर..
पहाडका टुप्पातिर
लस्करै उभिएका
रुखहरुका हाँगाका पातहरुलाई
कुत्कुताउँदै
मतिर बडो बेगले दौडिन्छ
त्यो अलमस्त फुक्का पवनपुञ्ज
सिर्रर - सिर्रर
मेरो ओँठ, मेरो केश
मेरो चस्मा, मेरो कुर्ताको फेँद
एकपटक लाटो रिसमा चुर्लुम्म
डुबेको झैँ गर्दै
टाँसिन आइपुग्छ त्यो उत्ताउलो
पवन-झोक्का
मा अघिजस्तै छतमा उभिएर हेर्दैछु
पर पर सडकमा मानिसहरू
कीरा-फट्यांग्रा झैँ देखिने
गाडीको ट्याँ-ट्याँ-टुँ-टुँ
धूँवा धुलो भन्दा निकै
टाढा छु म ..
एकनासले हेर्दैछु
कण-कणमा शक्ति भर्दै
मेरो छत वरिपरि पनि हेर्छु
फराकिलो छ
तर भुइँ अलि धुलो
यहि छतमा उहिलेका
यादहरुलाई पोका बनाई
जताततै बेवारिसे छाडेको छु
कहिलेकाहिँ मन लाग्दा
छतमा कुर्सी ठड्याउँछु
अनि बस्छु
लिन्छु गरम कडा चियाको
चुस्की
अनि आँखाले खोतल्न थाल्छु
ती यादहरुका थैलीहरु …
म अहिले पनि छतमैँ छु
सूर्यास्त हेर्दै छु
नाकको हड्डीमाथि
सुसज्जित छ मेरो प्यारो
धमिलो चस्मा
पर क्षितिजले
सूर्यलाई निल्दैछ
भोलि फेरि ओकल्नलाई
म बस् हेर्दैछु
हरेक दिन बस्
हेर्दैछु …
Leave a Comment